बिजनेस पोष्ट

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल पक्राउ परेका छन् ।
भ्रष्टाचार अनुसन्धान कार्यालय र प्रहरीले संयुक्त रुपमा मार्शल ल (सैनिक कानुन) प्रकरणमा उनीमाथि थप अनुसन्धानका लागि राष्ट्रपति योललाई पक्राउ गरेको बताएका छन् ।
उत्तर कोरियाका कम्युनिष्ट बलबाट सुरक्षाको लागि भन्दै राष्ट्रपति योलले गत ३ डिसेम्बरमा मार्शल ल घोषणा गरेका थिए। देशको लागि यो कदम जरुरी भएको उनको तर्क थियो ।
आफ्नै पार्टीका नेता र विपक्षी दललगायतको चर्को विरोधपछि उनले आफ्नो निर्णय ६ घण्टामै फिर्ता लिएका थिए । १४ डिसेम्बरमा उनीविरुद्ध संसदबाट महाअभियोग प्रस्ताव समेत पास भयो । त्यसयता पदबाट निलम्बित अवस्थामा रहेका उनलाई ठूलो बल लगाएर पक्राउ गरिएको हो ।
महाअभियोगको विषय संवैधानिक अदालतमा विचाराधिन छ । दक्षिण कोरियाको कानुन अनुसार महाअभियोग लागेपछि पदमुक्त हुने कि नहुने भन्ने अन्तिम निर्णय गर्ने अधिकार संवैधानिक अदालतमा हुन्छ ।
यसअघि योललाई पक्राउ गर्ने प्रयास भए पनि राष्ट्रपति सुरक्षा दलले असफल पारेको थियो । दोस्रो पटकको प्रयासमा अधिक बल प्रयोग गरी उनलाई पक्राउ गरिएको बीबीसीले जनाएको छ ।
राष्ट्रपति योलले चालेको कदमको विषयमा सोधपुछ गर्न भ्रष्टाचार अनुसन्धान कार्यालयका अधिकारीले पटक पटक उपस्थित हुन राष्ट्रपति योललाई भनेका थिए । तर, उनी अनुउपस्थित भएपछि अनुसन्धानमा बाधा पुर्याएको भन्दै अदालतबाट पक्राउ पुर्जी लिएका थिए ।
राष्ट्रपति योलको पक्राउको विरोधमा उनका समर्थकहरुको ठूलो भिड जम्मा भएको थियो । पक्राउ परेपछि योलले आफ्नो गिरफ्तारी गैरकानुनी भएको जिकिर गर्दै मुलुकमा रक्तपात रोक्न आफूले गिरफ्तारी दिएको बताएका छन् ।
दक्षिण कोरियामा राष्ट्रपति नै पक्राउ परेको यो पहिलो घटना हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया